Archive for July 2009
महिलाको रहस्यमय मृत्यु
सिमलताल। स्थानीय एक महिलाको शव रहस्यमय ढङ्गबाट सडकमा देखिएपछि सिमलतालका बासिन्दाहरुले नारायणगढ–मुग्लिन सडकखण्ड मंगलबार दिउँसो दुई घण्टा अवरुद्ध पारेका छन्। सिमलतालस्थित राजमार्गछेउमा दिउँसो कविलास गाविस वडा नं.–८ की ४४ वर्षीया फूलमाया गुरुङ्गको शव रहस्यमय रुपमा फेला परेको थियो। सवारीसाधनको ठक्करबाट गुरुङ्गको मृत्यु भएको भन्दै स्थानीय बासिन्दाहरुले दिउँसो पौने दुईबजेदेखि पौने चारबजेसम्म राजमार्ग अवरुद्ध पारेका थिए। मृतक गुरुङ्गको शरीरमा कुनै चोटपटक छैन। मृत्युको कारण पोष्टमार्टमबाट थाहा भएपछि थप अनुसन्धान गर्ने प्रहरी र स्थानीय बासिन्दाबीच सहमति भएपछि राजमार्ग खुला गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। मृतक गुरुङ्गको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ।
अदालतको निर्णयविरुद्ध आन्दोलनको चेतावनी
–होमनाथ सापकोटा
रत्ननगर। गैंडा तस्करीको अभियोग पुष्टि भइसकेका कुख्यात तस्करहरुलाई पुनरावेदन अदालत हेटौंडाले सजाय कम गरी एक वर्षभित्र थुनामुक्त गर्ने गरेको निर्णय तत्काल फिर्ता लिन सौराहाका होटल ब्यवसायीहरुले माग गरेका छन्। उनीहरुले उक्त निर्णय फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्।
विश्वमै दुलर्भ मानिएको एकसिङ्गे गैंडा संरक्षणमा जटिलता थपिइरहेको वर्तमान अवस्थामा अदालतले गरेको निर्णयलाई ब्यवसायीहरुले सरकारको उदासीनता भनेका छन्। Read the rest of this entry »
विद्यार्थीलाई प्रजनन स्वास्थ्य तालिम
रत्ननगर। विद्यार्थीहरुलाई एचआईभी एड्स र प्रजनन स्वास्थ्यसम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम बुधबारदेखि रत्ननगरमा सुरु भएको छ।
जिल्ला विकास समिति भरतपुरको सहयोगमा बीपी स्मृति प्रतिष्ठानले आयोजना गरेको सो कार्यक्रमको उद्घाटनसत्रका सहभागीहरुले एचआईभी एड्सका कार्यक्रमहरु लक्षित समुदायसम्म पुग्न नसकेको धारणा राखेका थिए।
स्थानीय विकास अधिकारी कुमारबहादुर खड्काले विद्यार्थीवर्गको सक्रिय सहभागिताले एचआईभी एड्सविरुद्धका कार्यक्रमहरु प्रभावकारी हुने उल्लेख गर्नुभयो।
चितवनका १२ वटा उच्च मावि तथा क्याम्पसका २५ जना विद्यार्थीहरुको सहभागिता रहेको सो कार्यक्रममा कृष्णजयन्ती पौडेल, राधिका पौडेललगायतले प्रशिक्षण दिनुभएको थियो।
प्रतिष्ठानका सहसचिव प्रकाश शर्माको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा रत्ननगर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष महेश रौनियार, सामुदायिक सेवा केन्द्र रत्ननगरका अध्यक्ष भुपेन्द्र अधिकारी, रत्ननगर जेसीजका भाइकाजी पन्त, रुपनराज घिमिरे, हेमराज गिरीलगायतले बोल्नु
भएको थियो।
कार्यक्रममा एचआईभी एड्स, प्रजनन स्वास्थ्य, जीवनोपयोगी सीपलगायतका विषयमा प्रशिक्षण दिइनेछ।
अभिभावक सडक बन्द गर्नेः छोराहरु क्रिकेट खेल्ने
भरतपुर। एक किशोर हातमा ब्याट लिएर उभिएका छन्। अर्काे युवक बलिङ्ग गर्दैछन्। बलले ब्याट्सम्यानलाई चक्मा दिंदै लौरोले बनेको स्टम्प ढालेपछि अन्य किशोर तथा युवाहरु …आउट’ भनेर चिच्चाउँदैछन्।
यो दृश्य कुनै खेलमैदान वा चौरमा नभई सधंैजसो ब्यस्त रहने सडकबीचको हो। भरतपुरको हाकिमचोकबाट
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल जाने बाटोमा पर्ने कृष्णपुरको बुद्धचोकमा बुधबार दिनभरिजसो किशोर तथा युवाहरुले क्रिकेट खेलेर मजा लिएका थिए।
क्रिकेट खेलको मजा लिदंै गरेका एक किशोर भन्दै थिए– …के गर्ने सडक बन्द गरिएपछि खुला सडकमा समय पास गर्न क्रिकेट खेलेका हौं।’
युवा तथा किशोरहरुमाझ लोकप्रिय बन्दै गएको क्रिकेट खेल खेल्ने अवसर भने उनीहरुकै अभिभावकहरुले जुराएका थिए। जीर्ण बनेको सो सडक मर्मतका लागि बजेट विनियोजित भएर पनि खर्च नभएको भन्दै स्थानीय बासिन्दाहरुले सडक बन्द गरेपछि किशोरहरुले सडकलाई नै खेलमैदान बनाएका थिए।
हाकिमचोकबाट क्यान्सर अस्पताल जाने सडक मर्मतका लागि भौतिक योजना तथा निर्माण मन्त्रालयबाट चालू आर्थिक वर्षमा जगेडा कोषबाट एककरोड निकासा भएको भएपनि त्यसको रकम खर्च नभएको स्थानीय बासिन्दा रामबाबु ढकालले आरोप लगाउनुभयो।
…रकम विनियोजित भएको छ। दुई–दुई पटक टेण्डर आह्वान गरेर पनि सडक डिभिजन कार्यालयले किन हो यसको मर्मत गर्न सकेन। जसको विरोधमा सडक बन्द गरेका हौं’–उहाँले भन्नुभयो। बाटो मर्मत नहुँदा स्थानीय बासिन्दादेखि क्यान्सर अस्पताल उपचार गराउन आउनेसम्म प्रभावित भइरहेको पनि उहाँले जनाउनुभयो।
डिभिजन सडक कार्यालय चितवनका डिभिजनल ईन्जिनियर राजेन्द्र शर्माले रकम निकासा नभएपनि मन्त्रालयको आश्वासनका भरमा टेण्डर आह्वान भएको, तर सो प्रक्रिया पूरा गरेर टेण्डर भर्ने ठेकेदार नहुँदा समस्या परेको बताउनुभयो।
…ठेक्का स्वीकृत गरेपछि बजेट विनियोजित हुने थियो, तर टेण्डर प्रक्रियाअनुसार भर्ने कोही भएनन्। पुनः साउनमा टेण्डर आह्वान गरेर सडक मर्मत गर्नेछांैं’– उहाँले भन्नुभयो।
स्थानीय बासिन्दाहरु भने अवरुद्ध सडक तत्काल मर्मत नगरेसम्म बाटो खुला नगर्ने अडानमा छन्। सडक अवरुद्ध हुनाले क्यान्सर अस्पताल आउनेजाने बिरामी र आफन्त एवम् गीतानगर, जगतपुर, माडीसम्मका यात्रु र सवारीसाधनहरु प्रभावित भएका छन्।
लक्ष्मी बैंकको शाखा पर्सामा
पर्सा। लक्ष्मी बैंकले पूर्वी चितवनको पर्साबजारमा आफ्नो १९ औं शाखा विस्तार गरी कारोबार सुरु गरेको छ।
चितवन जिल्लामा खुलेको बैंकको दोस्रो शाखा पर्साले त्यस क्षेत्रमा बैंकको उपस्थितिलाई थप मजबुत बनाउने र नयाँ तथा प्रविधिउन्मुख बैंकिङ्ग सेवा प्रदान गरिने बैंकद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ।
लक्ष्मी बैंकसँग १९ वटा शाखाहरु, १५ वटा एटीएम सेवाका अतिरिक्त देशभर फैलिएका करिब ४०० भुक्तानी एजेण्टहरु रहेका छन्। बैंकको पर्सा शाखाले चितवनमा बैंकको व्यवसाय वृद्धि गर्न क्रियाशील भूमिका निर्वाह गर्ने र ७ प्रतिशतसम्म वार्षिक व्याज दरका विभिन्न बचत तथा बचत योजनाहरु, जीवन बीमा, रेमिट्यान्स सेवालगायतका व्यक्तिगत बैंकिङ्ग सेवा प्रदान गर्ने जनाएको छ।
बालबालिका सुरक्षाको उच्च सतर्कतामा जोड
रत्ननगर। देशका विभिन्न ठाउँमा बालबालिकाहरुको अपहरण र हत्याका घटना बढिरहेका बेला रत्ननगरमा शुक्रबार आयोजित एक कार्यक्रममा मानवअधिकारकर्मीहरुले उनीहरुको सुरक्षाको लागि विद्यालयमै उच्च सतर्कता अपनाउनुपर्ने कुरा औंल्याएका छन्।
एम्नेष्टि इन्टरनेशनल नेपाल चित्रवन समूह ६४ रत्ननगरले आयोजना गरेको …बालबालिकाहरुको लागि सुुरक्षित विद्यालय’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनीहरुले विद्यालय गएका बाल–बालिकाहरु नै हत्या, अपहरण र बलात्कारको सिकार हुनुपरेको घटनाले आम नागरिक सचेत हुनुपर्नेमा जोड दिएका थिए।
बालबालिकाको संरक्षणको लागि सरकारले प्रभावकारी काम गर्न नसकेको उल्लेख गर्र्दै मानवअधिकार–कर्मीहरुले सरकारको उदासीनताकै कारण ख्याती श्रेष्ठको हत्याजस्ता घटनाहरु मौलाउँदै गएको बताएका छन्। कार्यक्रममा सहभागीहरुले घरबाट विद्यालय जाँदा र विद्यालयबाट घरसम्म आउँदाको बीचमा विद्यार्थीले भोग्नुपरेको समस्याप्रति सबै गम्भीर भइदिन आग्रह गरेका थिए।
कार्यक्रमकी प्रमुख अतिथि महिला मानवअधिकार रक्षक केन्द्रीय सदस्य सावित्री बास्तोलाले हरेक बालबालिकालाई विद्यालयमा निडर हुन सक्ने वातावरणको सिर्जना हुन नसक्दा उनीहरुको हत्या, अपहरण र बलात्कृत हुनुपरेको बताउनुभयो। …नेपालमा यस्ता घटनाले भयानक रुप लिइसकेको छ। यसको अन्त्य गर्न विद्यालयमा सतर्कता अपनाउनु पर्छ’– उहाँले भन्नुभयो।
कार्यक्रममा महिला मानवअधिकार रक्षक चितवन जिल्ला सचिव शीला अधिकारीले बालबालिकाको संरक्षणको लागि सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने धारणा राख्नुभयो। समूह ६४ का सदस्यद्वय वीरेन्द्रकुमार चौधरी र शशीकला अधिकारीले शिक्षकहरुबाटै विद्यार्थीहरुले शारीरिक तथा मानसिक यातना भोग्नु परेकोले शिक्षकहरुलाई आँखा चिम्लेर विश्वास नगर्न आग्रह गर्नुभयो।
कार्यक्रममा मानवअधिकारको अवस्था, बालबालिकाले भोग्नुपरेका विभिन्न किसिमका यातना, घटनाको न्यूनीकरण, विद्यार्थी तथा
बालबालिका स्वयम्ले अपनाउनुपर्ने सतर्कतालगायतका विषयमा छलफल गरिएको थियो।
सो अवसरमा बैरिया माविका छात्र सविन पौडेलले नयाँ बन्ने संविधानमा बालबालिका संरक्षणको लागि प्रभावकारी नीति तय गर्नुपर्ने धारणा राखेका थिए। कार्यक्रममा पूर्वी चितवनका सरकारी विद्यालयका ६० जना विद्यार्थीहरुको सहभागिता थियो।
समूह ६४ रत्ननगरका संयोजक रामचन्द्र मिश्रको अध्यक्षतामा
सम्पन्न कार्यक्रममा विश्वनाथ खनाल, घनप्रसाद रेग्मी, प्रकाशबाबु खनाल, लिलिमा थापामगर, अम्बिका तिवारी, महादेवी खतिवडालगायतले बोल्नुभएको थियो।
लास हेर्न पाए पनि हुन्थ्यो’
वीरेन्द्र पराजुली नवलपरासी।
…मैले पैसा कमाउँछु, तिमीले मेरो चिन्ता नगर, छोराहरु बुबा र आमाको राम्रो ख्याल गर्नु।’ केही दिनअगाडि मात्र फोनमा घनश्याम सार्कीले श्रीमती मनमायासँग भनेका कुरा उनी सम्झदै आँसु चुहाउँछिन्। यो भनाइ नै अन्तिम होला भनेर मनमायाले कल्पना त के सोच्न पनि पक्कै सकेकी थिइनन्, तर दैवले लाठी कहिल्यै नफर्कने गरी घनश्याम माथि नै बजार्यो। उनी अब यो दनियाँमा रहेनन् । तैपनि उनको सम्झनामा मनमाया तस्बिरलाई अँगाल्दै चित्त बुझाएकी छिन्। संयुक्त अरब दुबईबाट खाँडीमुलुक कतारको दोहा जाँदै गरेको पानीजहाज डुब्दा १२ नेपालीसँगै नवलपरासी–९ पर्सौनीका घनश्याम सार्कीले पनि संसारबाट बिदा माग्नुपर्यो। मंगलबार सबेरै पानीजहाज डुबेर अरुसाथीसँगै घनश्याम पनि यो संसारमा नरहेको खबर परिवारजनले शुक्रबार बिहानमात्र थाहा पाए। जुन खबरले परिवारमात्र होइन, सिङ्गो पर्सौनी गाउँ नै शोकमा चुर्लुम्म डुब्यो। आफ्नो भएको सबै सम्पत्ति साहूलाई बेचेर एकलाख २५ हजार खर्च गरी घनश्याम विदेशिएका थिए। …आमा सञ्चै हुनुहुन्छ? मेरो पिर नलिनु मैले पैसा पठाएपछि साहूको ऋण तिर्नुहोला भनेको थियो।’ घरीघरी सम्झँदै आमा मनकुमारी भक्कानो फुटाएर रुन्छिन्। उनी आँसु बगाउँदै भन्छिन्–…छोराको लास हेर्न पाए हुन्थ्यो।’ तीन भाईमध्ये घनश्याम कान्छा हुन्। गएको महिनामात्र उनले ४० हजार रुपियाँ घर पठाएको स्थानीय युवक दीपक विकले जानकारी दिए। …छोराको लाशमात्र सरकारले ल्याइदिए कमसेकम लास त हेर्न पाउँथे’– आमा मनकुमारीले पटकपटक यो कुरा दोहोर्याइन्। न्यून आर्थिक परिवारका सार्कीको अन्य दाजुहरु भारतमा काम गर्छन्। घनश्याम पनि केही महिना पहिले गाउँमा बसेर ज्यालादारी काम गरेको स्थानीय शिक्षक जनक विकले बताए। छिमेकका साथीहरु सबै विदेश गएको देखेर उनीपनि गएको भदौंमा विदेशिएका थिए। घनश्यामका बाबुआमासहित २ छोरा छन्। मृतक सबैलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने स्थानीयको भनाइ छ।
ट्वान्टी–ट्वान्टीको उपाधि पत्रकारलाई
ट्वान्टी–ट्वान्टीको उपाधि पत्रकारलाई
भरतपुर। लक्ष्य भेट्याउन १६ रन बा“की छँदैमा विपक्षीलाई अलआउट गरेपछि खेलकुद पत्रकार मंच चितवनले पहिलो पटक आयोजना गरेको ट्वान्टी–ट्वान्टीको उपाधि हात पारेको छ।
बिहीवार वीरेन्द्र क्याम्पस मैदान भरतपुरमा सम्पन्न खेलमा खेलकुद पत्रकार मंचले जिल्ला खेलकुद विकास समितिलाई १६
रनले हरायो।
खेलकुद पत्रकार मंचका लागि रेडियो चितवनका रामु आचार्यले क्याच आउट हुनु अघि ३६ रनको योगदान गरे।
आफनो सबै खेलाडी गुमाउनु अघि खेलकुद पत्रकार मंचले
१०२ रनको योगफल तयार पारेको थियो।
१०३ रनको लक्ष्य लिएर मैदानमा उत्रेको खेलकुद विकास समिति बीस ओभरमा मात्र ८६ रनले खुम्चिएको थियो। उसलाई सो स्कोरसम्म पुर्याउन गुञ्जन उपाध्यायले ३६ रन बनाएका थिए।
सो खेलमा पत्रकारका तर्फबाट सुरज ज्ञवालीले ३ र खेलकुद विकास समितिका गुञ्जन उपाध्यायले ५ विकेट लिएका थिए।
खेल अन्तर्राष्ट्रिय खेलकुद पत्रकार स्थापना दिवसको अवसरमा आयोजना गरिएको थियो।
बोटे टोल पनि खुल्ला दिसामुक्त
बोटे टोल पनि खुल्ला दिसामुक्त
पटिहानी। नेपाल बोटे समाजले पटिहानी–१ मा रहेको बोटे टोललाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेको छ। घोषणा अघि र्याली पनि निकालिएको थियो। र्याली पटिहानी बजार परिक्रमा गरी बोटे टोलमै गएर कोणसभामा परिणत भएको थियो। कार्यक्रममा सरसफाइसम्बन्धी नृत्य प्रस्तुत गरिएको थियो। सरसफाइमा उत्कृष्ट भएकी सुशीला बोटेलाई पुरस्कृत गरिएको थियो। कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पदमबहादुर गुरुङ, नेपाल बोटे समाजका जिल्ला अध्यक्ष साउने बोटे, धर्मराज प्रजापतिलगायतले बोल्नुभएको थियो। कार्यक्रमको प्रमुख अतिथिमा हरिकृष्ण पौडेल र अध्यक्षमा इन्दिरा बोटे रहनुभएको थियो।
वृद्धि शुल्क फिर्ता नलिए सघर्ष’
वृद्धि शुल्क फिर्ता नलिए सघर्ष’
भरतपुर। नेपाल विद्यार्थी संघ र अनेरास्ववियु चितवनले नीजि उच्च माविहरुले मनोमानी ढंगले वृद्धि गरी महंगो शुल्क असुलेको अरोप लगाउँदै सात दिनभित्र फिर्ता लिन माग गरेका छन्। संघका जिल्ला अध्यक्ष जीतनारायण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा जनताको ढाड सेक्ने गरी मनोमानी र हचुवा पाराले उच्चमावि समन्वय समिति चितवनले भर्ना र मासिक शुल्कमा लगभग ४० प्रतिशत वृद्धि गरेको उल्लेख गर्दै उक्त कार्यको निन्दा गरिएको छ। अध्यक्ष श्रेष्ठले सातदिन भित्र उक्त वृद्धि फिर्ता नलिए कडा संघर्षको घोषणा गरिने चेतावनी दिनुभएको छ। त्यस्तै आम विद्यार्थी एवम् अभिभावक सम्पूर्णमा वृद्धि शुल्क नतिर्न श्रेष्ठले अपील गर्नुभएको छ। त्यसैगरी युनियनका जिल्ला अध्यक्ष अनोज जोशीले जारी गरेको विज्ञप्तिमा नया“ भर्नाको समयमा विद्यार्थीलाई प्रत्यक्ष मार पार्ने गरी गरिएको शुल्क वृद्धि खारेज गर्न माग गरिएको छ।