विद्यार्थीलाई प्रजनन स्वास्थ्य तालिम
रत्ननगर। विद्यार्थीहरुलाई एचआईभी एड्स र प्रजनन स्वास्थ्यसम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम बुधबारदेखि रत्ननगरमा सुरु भएको छ।
जिल्ला विकास समिति भरतपुरको सहयोगमा बीपी स्मृति प्रतिष्ठानले आयोजना गरेको सो कार्यक्रमको उद्घाटनसत्रका सहभागीहरुले एचआईभी एड्सका कार्यक्रमहरु लक्षित समुदायसम्म पुग्न नसकेको धारणा राखेका थिए।
स्थानीय विकास अधिकारी कुमारबहादुर खड्काले विद्यार्थीवर्गको सक्रिय सहभागिताले एचआईभी एड्सविरुद्धका कार्यक्रमहरु प्रभावकारी हुने उल्लेख गर्नुभयो।
चितवनका १२ वटा उच्च मावि तथा क्याम्पसका २५ जना विद्यार्थीहरुको सहभागिता रहेको सो कार्यक्रममा कृष्णजयन्ती पौडेल, राधिका पौडेललगायतले प्रशिक्षण दिनुभएको थियो।
प्रतिष्ठानका सहसचिव प्रकाश शर्माको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा रत्ननगर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष महेश रौनियार, सामुदायिक सेवा केन्द्र रत्ननगरका अध्यक्ष भुपेन्द्र अधिकारी, रत्ननगर जेसीजका भाइकाजी पन्त, रुपनराज घिमिरे, हेमराज गिरीलगायतले बोल्नु
भएको थियो।
कार्यक्रममा एचआईभी एड्स, प्रजनन स्वास्थ्य, जीवनोपयोगी सीपलगायतका विषयमा प्रशिक्षण दिइनेछ।