महिलाको रहस्यमय मृत्यु
सिमलताल। स्थानीय एक महिलाको शव रहस्यमय ढङ्गबाट सडकमा देखिएपछि सिमलतालका बासिन्दाहरुले नारायणगढ–मुग्लिन सडकखण्ड मंगलबार दिउँसो दुई घण्टा अवरुद्ध पारेका छन्। सिमलतालस्थित राजमार्गछेउमा दिउँसो कविलास गाविस वडा नं.–८ की ४४ वर्षीया फूलमाया गुरुङ्गको शव रहस्यमय रुपमा फेला परेको थियो। सवारीसाधनको ठक्करबाट गुरुङ्गको मृत्यु भएको भन्दै स्थानीय बासिन्दाहरुले दिउँसो पौने दुईबजेदेखि पौने चारबजेसम्म राजमार्ग अवरुद्ध पारेका थिए। मृतक गुरुङ्गको शरीरमा कुनै चोटपटक छैन। मृत्युको कारण पोष्टमार्टमबाट थाहा भएपछि थप अनुसन्धान गर्ने प्रहरी र स्थानीय बासिन्दाबीच सहमति भएपछि राजमार्ग खुला गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। मृतक गुरुङ्गको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ।